कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार

१३ मध्य २ को मृत्यु

अछाम २७ जेष्ठ।

कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका १३ मध्य ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ ।अछामको पञ्चदेवल बिनायक नगरपालिका-९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका-६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए । खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो  उनले भने- बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ ।पुलको दाँहिने तर्फको जाली लत्रिएको थियो । खट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए ।