संविधानले नेपाललाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।

‘संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक,धार्मिक,सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका हुन् ।

संविधान दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य राखेको बताए।

तर सुदृढ तहगत अन्तरसम्बन्धको स्थापना र सबल सङ्घीय शासन प्रणालीमार्फत समावेशी, समन्यायिक एवं सन्तुलित प्रादेशिक विकासको सुनिश्चितता हुन नसके जनताले चाहेको लोकतन्त्रको परिणाम प्राप्त नहुने उनले बताए। श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने उनले बताएका छन्।

राष्ट्रपति पौडेललेलो कतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान एवं श्रद्धा प्रकट गरेका छन्।

राष्ट्रपति पौडेलले राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारी तथा राजनीतिक दलका नेता कार्यकर्ताले जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउनसके मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुने उल्लेख गरेका छन्।