बाढीपीडितको उपचारमा जुट्यो औषधि आयातकर्ता सङ्घ ३ करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । बाढी तथा विपद्बाट प्रभावित नागरिकको उपचारका लागि नेपाल औषधि आयातकर्ता सङ्घले ३ करोड रुपैयाँभन्दा बढी मूल्यका औषधि तथा स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको छ।

सोमबार सङ्घले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत भोटेकोशी र रसुवा क्षेत्रमा आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। विपद्पछि उपचार सेवामा औषधिको अभाव हुन नदिन अत्यावश्यक सामग्री उपलब्ध गराइएको सङ्घले जनाएको छ।

सरकारले उपलब्ध गराएको आवश्यकता सम्बन्धी सूचीका आधारमा सङ्घले विभिन्न प्रकारका औषधि तथा स्वास्थ्य सामग्री जुटाएको हो। सहयोगमा कोलेरा, टिटानस र एन्टीरेबिज भ्याक्सिनसँगै प्यारासिटामोल इन्जेक्सन लगायत उपचारमा प्रयोग हुने सामग्री रहेका छन्।

बाढीका कारण प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारमा सहजता होस् भन्ने उद्देश्यले सहयोग गरिएको सङ्घको भनाइ छ। विपद्को समयमा औषधिको नियमित आपूर्ति कायम राख्नुका साथै प्रभावित नागरिकसम्म तत्काल स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयसँगको समन्वयमा प्राप्त सामग्री प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा आवश्यक स्थानमा पठाइनेछ। यसबाट बाढी प्रभावित नागरिकले स्थानीयस्तरमै आवश्यक उपचार तथा औषधि पाउने वातावरण बन्ने विश्वास गरिएको छ।

सङ्घका अध्यक्ष पवन कुमार आचार्य र महासचिव मधु पौडेलले जारी गरेको पत्रमा विपद्का बेला स्वास्थ्य क्षेत्रमा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ। आवश्यकता पहिचान हुँदै गए आगामी दिनमा पनि औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति र सहकार्यलाई निरन्तरता दिने सङ्घले जनाएको छ।