काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेकी छन् ।
यसैअन्तर्गत मन्त्री डा. राणाले मङ्गलबार बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छन् । मन्त्री डा. राणाले कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी हुन् ।
कुराकानीका क्रममा कतारका मन्त्री डा.खुलाइफीले हमासहरुलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराउँदै हमासहरुको अपहरणमा रहेकाहरुको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको बताइन् ।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन् । विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ ।