कुलमान घिसिङले पेस गरे आफ्नो कार्यसम्पादन मूल्यांकन विवरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना उपलब्धि सार्वजनिक गरेका छन् ।

शुक्रबार घिसिङले गत आर्थिक वर्षको कार्यसम्पादन विवरण मूल्याङ्कनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका हुन् ।

कार्यकारी निर्देशक घिसिङले गत आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अङ्क दाबी गरी मूल्याङ्कनका लागि मुख्य कार्यसम्पादन सूचकाङ्क समेटिएको विवरण मन्त्रालयलाई पेस गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच ५ माघ २०७८मा प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको थियो । ऊर्जा मन्त्रालयबाट आर्थिक २०७८/७९ र २०७९/८० मा गरेको घिसिङको कार्यसम्पादनमा क्रमशस् ९४.२३ र ९८.९४ प्रतिशत अङ्क प्राप्त भएको थियो ।

प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३/७४ मा १ अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिरणले नाफाको इतिहास सुरु गरेको थियो । त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा झारेको थियो । ८ वर्ष अघिसम्म प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आर्थिक वर्ष २०७९/८०मा विद्युत चुहावट १३.४६ प्रतिशत थियो ।

प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ । आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ ।

मन्त्रिपरिषद्को २५ साउन २०७८ को निर्णयबाट घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि दोस्रोपटक नियुक्त भएका थिए ।