काठमाडौं । जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधबार काठमाडौंको वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले १२ वर्षअघि कठिनताका साथ सुरुवात गरिएको कार्यक्रम अहिले देश विदेशभर फैलिएको भन्दै खुसी व्यक्त गरे।
श्रेष्ठले नेपाली टोपी अभियान कुनै पनि अभियानको विरोधमा नरहेको भन्दै केही तत्वहरुले विवादित बनाउने कोसिस भइरहेको बताए । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न पनि संयोजक श्रेष्ठले सरकारसँग जोडदार माग समेत गरे ।































