गलकोट। बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् ।
जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले मंगलबार नेपालीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
सोह्र महिनादेखि फरार रहेका नेपालीलाई केन्द्रीय अनुसन्धान व्यूरोले भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरिएको थियो ।
भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार मात्रै बागलुङ ल्याएको थियो । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।
सहकारीका बचतकर्ताको रु दुई अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा बुर्तिबाङ बजारबाट उनी परिवारसहित फरार भएका थिए ।

























