Hotel Panchthar Nepco Media

संविधान दिवस मनाउन मूल समारोह समिति गठन

काठमाडौं। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृह मन्त्रालयद्वारा आयोजित बैठकले संविधानसभाबाट नेपालको संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रियरूपमा मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू र जनस्तरमा समेत दीपावलीलगायतका विविध कार्यक्रम तय गरेको छ ।

असोज २ गते काठमाडौंको दरबारमार्गमा सांगीतिक महोत्सव ९नेसनल डे कन्सर्ट० र असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम गर्ने तय भएको छ । यस्तै असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ–संस्थाका कार्यालयको छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने, सार्वजनिक सवारी साधनहरूमा राष्ट्रिय झण्डा फहराउन आह्वान गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठित संविधान दिवस मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राकिंत अधिकृतहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, काठमाडौं उपत्यकास्थित नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव, सदस्य-सचिव रहने छन् ।