गट्ठाघर दुर्घटना : मृतक पुरुषलाई बहिनी दाबी गर्ने युवक पक्राउ

काठमाडौं । भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

दोलखाको मेलुङ गाउँपालिका-४ का शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ परेका उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन् । उनले मृतकलाई किन आफ्नी बहिनी भने भनेर नखुलेको प्रहरीको जनाएको छ ।

बिहीबार दिउँसो घटनास्थलमै पुगेर उनले मृतक महिला आफ्नी बहिनी हुन् भन्ने दाबी गरेपछि उनी घटनास्थलबाट हिँडेका थिए । मृतक महिला नभएर पुरुष भएको पुष्टि साँझ मात्रै भएको थियो । त्यसपछि प्रहरीले उनलाई खोजेर पक्राउ गरेको हो ।

बिहीबार दिउँसो गट्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । सुरुमा प्रहरीले मृतकलाई महिला भन्दै घटना विवरण सार्वजनिक गरेको थियो । पछि अनुसन्धानको क्रममा मृतक महिला नभएर पुरुष भएको खुलेको थियो । घटनामा परी ओखलढुंगाका ६५ वर्षिय उत्तम कोइरालाको निधन भएको पुष्टि भएको छ ।