काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का दावा शेर्पाले गत साता मलेसियाको एट्रिया सपिङ मलमा ड्युटी गर्दागर्दै एउटा सुटकेसमा ६ लाख रिंगेट भेटेका छन् ।
त्यो सुर्केसमा ५ लाख ८७ हजार ५ सय १६ मलेसियन रिंगेट थियो । उनले त्यो नगदसहितको सुटकेस प्रहरीलाई बुझाए ।
भेटेको पैसासहितको सुटकेस प्रहरीलाई इमानदारीपूर्वक बुझाएपछि उनलाई मलेसियास्थित नेपाली दूतावासले सम्मान गरेको छ ।
मंगलबार रोजगारदाता कम्पनीका मालिकसहित दूतावासमा बोलाएर मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले शेर्पाको सम्मान गरेका हुन् ।
विगत ४ वर्षदेखि मलेसियाको ‘ए फाइभ सेक्युरिटी सर्भिस’मा कार्यरत रहेका शेर्पालाई सम्मान थाप्न भ्याइनभ्याइ भएको हो ।
शेर्पाले आफ्नो पेसागत निष्ठा तथा व्यावसायिकता प्रमाणित गरेको भन्दै उनको इमानदारीलाई सम्मान गरिएको दूतावासले जनाएको छ । उनको यो इमानदारी तथा व्यावसायिकताले सारा नेपाल र नेपालीको शिर उच्च बनाएको दूतावासले जनाएको छ । केही दिनअघि मात्र उनलाई कम्पनीका निर्देशक सिंह जसवंतले उपहारसहित अवार्ड प्रदान गरेका थिए ।
अवार्ड प्रदान गर्दै कम्पनीका निर्देशक सिंह जसवंतले भने, ‘हाम्रो कम्पनीप्रतिको शेर्पाको वफादारी र इमानदारीको साँच्चै प्रशंसा गर्छौं ।’ यस घटनाले नेपाली कामदार इमानदार हुन्छन् भन्ने उदारणसमेत दिएको रोजगारदाता कम्पनीले जनाएको छ ।
ए फाइभ सेक्युरिटी सर्भिसमा काम गर्दै आएका उनले आफूले आफ्नो काम र जिम्मेवारी पूरा गरेको बताए ।




























