रुस-युक्रेन युद्ध : एक नेपालीको मृत्यु

काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा रुसी फौजमा कार्यरत बागलुङका जितबहादुर विकको मृत्यु भएको छ । युक्रेनविरुद्धको लडाइँमा विकको ज्यान गएको उनका आफन्तले जानकारी दिए।

गत माघ २० गते निधन भएपनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको परिवारले जनाएको छ। वैदेशिक रोजगारीका लागि पर्यटक भिसामा गत असोज ११ गते रुस पुगेपछि विक रुसी फौजमा भर्ना भएका थिए।

मृत्यु भएको पुष्टि भएपछि परिवारले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको परिवारले जानकारी दिए । ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहेका विकका भाइको फोनमार्फत घरमा मृत्युको खबर आएको बताए। ‘रुसी सेनामा भर्ना भएको तस्वीर उहाँले नै सार्वजनिक गर्नुभएको थियो, परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ’, वडाध्यक्ष घर्तीले भने, ‘उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ, परिवारको बिचल्ली भएको छ ।’

विकका श्रीमती, दुई छोरी र एक छोरा छन् ।