१० करोड बढी रकम ठगी गर्ने ट्रेनिङ सेन्टर सञ्चालक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने भन्दै १० करोड भन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालकलाई पक्राउ गरेको छ ।

ललितपुर बस्ने सी सेन्टरका सञ्चालक लाल बहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महाराजगञ्जस्थित उक्त ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीका लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले शंखमूलबाट पक्राउ गरेको हो ।

लामाले पीडितहरूबाट ५ लाख देखि १५ लाखसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुलेको छ । ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद भएको प्रहरीले जनाएको छ ।

लामालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।