काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतीहरूको सामना गर्न राज्यका सबै निकायहरू संवेदनशील हुन आवश्यक रहेको बताएका छन् ।
तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सरकार एकल तथा असहाय ज्येष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न निरन्तर लागिपरेको बताएका छन् ।
प्रधानमन्त्रीले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको उल्लेख गरेका छन् ।