Hotel Panchthar Nepco Media

संसदीय समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र जार्दै

काठमाडौं । संसद्को राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।

राहत वितरणको अवस्थाबारे बुझ्न समितिका ११ सदस्य जाजरकोट र रुकुमपश्चिमका लागि प्रस्थान गरेको सभापति रामहरि खतिवडाले बताए।

उनका अनुसार सबै सदस्य आफ्नै खर्चमा विमानमार्फत् जान लागेका हुन्। टोलीले प्रभावित क्षेत्रमा राज्य संयन्त्रको कामकारबाहीमा पनि प्रभाव नपार्ने उनले बताए ।

उनले भूकम्प पीडितको अवस्था र राहत वितरणबारे बुझेर फर्किएपछि समितिको बैठकबाट सरकारलाई आवश्यक निर्देशन दिने बताए।

गत शुक्रबार मध्यराति जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ भने हजारौँ घर भत्किएका छन्।