नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार बिहान ८ बजेबाट मतदान हुँदैछ ।
मतदान पार्टी मुख्यालय च्यासलमा हुन लागेको हो । मतदानका लागि ४० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ ।
गत असोज ८ गतेबाट सुरु भएको अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिएपनि सहमति हुन नसकेपछि आज मतदान हुन लागेको हो ।
निर्वाचनले पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।
अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल र रामेछापकै केशबहादुर बुढाथोकी गरी तीनजनाको उम्मेदवारी रहेको निर्वाचन समितिका प्रमुख अधिवक्ता डिल्ली मैनालीले बताए ।
यसैगरी उपाध्यक्षका लागि सुवासचन्द्र ठकुरी, दावादोर्जे लामा, इश्वरचन्द्र पोखरेल, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाको उम्मेदवारी रहेको छ भने सचिवका लागि रत्ना गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राजकुमार अधिकारीको उम्मेदवारी रहेको छ ।
दुई उपसचिवका लागि डबल पाण्डे, टासी लामा, ओमराज पन्त, खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, भक्तकुमारी लामा, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालको उम्मेदवारी कायमै रहेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै उम्मेदवारी दर्ता पश्चात निर्वाचन प्रक्रियाअनुसार केही जिल्लाको भूगोल तर्फका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । खुल्ला सदस्य तर्फका लागि मतदान हुनेछ ।
मतदान पछि आजै मतगणना हुने र निर्वाचितहरुलाई प्रमाणपत्र वितरण गरिने एमालेले जनाएको छ ।