गलुङ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । निसीखोला गाउँपालिका-४, कानाबगरस्थित कालापैरा खोलामा आएको बाढीले बागलुङ-बुर्तिबाङ-पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडक शनिबार दिउँसोदेखि अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौं, पोखरा, बागलुङलगायत स्थानमा छुटेका मालवाहक तथा सवारीसाधन ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् ।
रातभर भारी वर्षा भएको र अहिले केही कम भएकाले खुलाउने प्रयास भएको निसीखोला गाउँपालिका-४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । बाढीले करिब २०० मिटर कालोपत्र सडकमा क्षति पुर्याएको अध्यक्ष पौडेलको भनाइ छ ।
बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौं र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनले बताए ।