तनहुँ । राष्ट्रपति भएपछि पहिलो पटक राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला आउने भएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएको करिब साढे छ महिनापछि राष्ट्रपति पौडेल व्यास नगरपालिका ३ दमौलीस्थित दमौली सभा हलको उद्घाटन गर्न तनहुँको दमौली आउन लागेका हुन्।
बिहान तनहुँको भानु नगरपालिका-१३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति पौडेलले सदरमुकाम दमौलीको बिपी वनवाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
७ सय ५० जना क्षमताको उक्त सभा हल गण्डकी प्रदेशकै ठुलो मानिएको छ । राष्ट्रपति पौडेल नेपाली काँग्रेसको वरिष्ठ नेता भएको समयमा उहाँकै पहलबाट सङ्घीय सरकारको करिब २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभा हल निर्माण भएको हो ।