काठमाडौंका हलमा रोकियो ‘आदिपुरुष’को प्रदर्शन

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् ।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।

फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ ।

सुरक्षा त्रासको कारण हलहरुले बिहानी शो रोकेका हुन् । सोही निर्देशनको पालना गर्दै हलहरुले प्रदर्शन रोकेका हुन् । बिहानी शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने ब्यवस्था हलहरुले गरेका छन् ।

चलचित्र संघले बोलायो आकस्मिक बैठक

काठमाडौं महानगरका मेयर बालेन शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ ।

मेयर शाहले फिल्ममा समावेश जानकी भारतकी छोरी हुन् भन्ने विवादित अभिव्यक्तिलाई भारतमा समेत नसच्चाएसम्म काठमाडौं महानगरमा फिल्म प्रदर्शन हुन नदिने स्टाटस लेखेका थिए । उनले तीन दिनको डेट तोकेरै लेखेकाले चलचित्र संघले यसबारे बैठक बोलाएको हो ।
फिल्म निकायका सबै संस्थाले पनि फेसबुकमा स्टाटस लेख्दै आपत्ति व्यक्त गरिरहेका छन् ।