काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शनिवार राती चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
तिब्बतको ल्हासामा आयोजना हुने पाँचौँ चाइना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना शनिवार राती चीनतर्फ प्रस्थान गरेका हुन्।
अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिवार राती १२ः०५ बजेको चाइना साउर्दन एयरलाइन्सको उडानबाट ग्वाञ्झाओ हुँदै बेइजिङतर्फ प्रस्थान गरेको हो । उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जङ्गबहादुर राणा, प्रदीप यादव तथा राष्ट्रियसभाका सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एवम् अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी रहेका छन् ।
तिब्बतमा आगामी जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।