Hotel Panchthar Nepco Media

ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले भूमिका निर्वाह गर्न आवश्यक छ : सभापति देउवा

गणतन्त्र दिवस

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ-आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको बताउनुभएको छ ।

सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर सहिदप्रति दिवसका अवसरमा उहाँहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उहाँले नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलतापश्चात् काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको उल्लेख गर्नुभएको छ ।

गणतन्त्र कार्यान्वयनका लागि २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकमा पेस गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यो दिनलाई गौरवका साथ स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।

सभापति देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताउनुभएको छ ।