चितवन । ६ असोज २०४१ मा राप्ती नदीमा भीषण बाढी आयो । बाढीले पूर्वी चितवनको कुमरोज बस्ती नै जोखिममा पार्यो । बाढी वर्षौँसम्म दोहोरिइरहेकाले सिंगो बस्ती त्रसित थियो । यो बाढीले स्थानीयको जनजीवन र जीविकोपार्जनमा ठूलो असर पार्यो । २०५० सालसम्म आइपुग्दा बाढीको त्रासले यस क्षेत्रका बासिन्दालाई झन् सतायो ।
त्यही विपत्तिले आज कुमरोजमा एउटा फरक पहिचान जन्माएको छ । बाढीबाट बस्ती जोगाउन सुरु गरिएको वृक्षरोपण अहिले पर्यटकको आकर्षण बनेको छ । कुनै समय बाढीको जोखिम र उजाड जमिनका रूपमा चिनिएको क्षेत्र अहिले घना जंगलमा परिणत भएको छ । त्यही जंगल हो, चितवनको खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन ।
बाढी नियन्त्रणका लागि स्थानीयले सुरुमा बाँस, सिसौ र भेलरका बिरुवा रोपे । बाढीको पानी रोक्न प्राकृतिक अवरोध बनाउने उद्देश्यले थालिएको वृक्षरोपण क्रमशः वन संरक्षणको अभियान बन्यो । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोग र स्थानीय समुदायको निरन्तर प्रयासले विस्तार हुँदै गएको वन अहिले करिब एक हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
खैरहनी नगरपालिका–१२ र १३ मा फैलिएको यो वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यहाँ बाघ, गैँडा, हात्तीलगायतका वन्यजन्तु पाइन्छन् । वन्यजन्तुको बासस्थान संरक्षणसँगै पर्यापर्यटनको विकासले कुमरोजलाई पूर्वी चितवनको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ ।
कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजु सिलवालका अनुसार गत आर्थिक वर्षमा वनले चार करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा आम्दानी सात करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । ‘हामीले बाढीको पीडाबाट सिकेका छौँ । निरन्तर संरक्षणको परिणाम हो, आज मध्यवर्ती वनले पर्यटकको आकर्षण बटुल्दै आएको छ,’ अध्यक्ष सिलवाल भन्छन् ।
बाढी रोक्ने प्रयासबाट सुरु भएको संरक्षण अभियान
कुमरोज वनको अहिलेको स्वरूप एकैपटक बनेको होइन । यसको जग बाढीबाट बस्ती जोगाउने प्रयासमै राखिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ रेन्जर ऋषिराम सुवेदीका अनुसार २०४९ र २०५० सालतिर पूर्वी चितवनमा बाढीले ठूलो क्षति पुर्याएको थियो । हजारौँ बिघा जमिन डुबानमा परेको र झन्डै दुई हजार परिवार विस्थापित हुनुपरेको थियो । केही परिवारलाई खैरहनी नगरपालिका–२ को सिमरामा पुनःस्थापना गरिएको सुवेदी बताउँछन् ।
त्यस समयमा बाढी रोक्न ड्याम निर्माण गर्ने विषयमा पनि छलफल भएको भन्दै सुवेदी भन्छन्, ‘हरेक वर्ष ड्याम थप्दै जानुपर्ने र त्यसका लागि निरन्तर स्रोत तथा जनशक्ति जुटाउनुपर्ने अवस्था देखियो । स्थानीय लोकप्रसाद बुर्लाकोटी र दानबहादुर दाहालले स्थायी समाधानका रूपमा प्राकृतिक अवरोध निर्माण गर्नुपर्ने सुझाव दिएपछि वृक्षरोपणको योजना अघि बढ्यो ।’
राष्ट्रिय प्रकृति संरक्षण कोषले २०५० सालदेखि यस क्षेत्रमा वृक्षरोपण सुरु गरेको उनको भनाइ छ । सुरुवाती अवस्थादेखि अहिलेसम्म यसमा रहेर काम गरेका सुवेदी कुमरोजको जनकपुर क्षेत्रमा १५ कठ्ठा जमिनमा नर्सरी स्थापना गरिएको र त्यही नर्सरीमा उत्पादन भएका बिरुवा क्रमशः विभिन्न क्षेत्रमा रोपिँदै गएको बताउँछन् । ‘यो वन एकै वर्षमा बनेको होइन । वर्षैपिच्छे प्लट–प्लट गरेर वृक्षरोपण गर्दै विस्तार गरिएको हो,’ सुवेदी बताउँछन् ।
सुरुका दिनमा संरक्षण अभियानमा स्थानीयको साथ र विरोध दुवै थियो । जंगलमा निर्भर रहेका कतिपय स्थानीयलाई पशुचौपाया चराउन नपाउने भएपछि समस्या परेको सुवेदी बताउँछन् । ती दिन सम्झँदै सुवेदी भन्छन्, ‘बिरुवा रोप्यो, फालिदिने, हुर्काउनै नसक्ने अवस्था थियो । एक दिन त भैँसी चराउँदै गरेका स्थानीयहरू म र अर्को एक जना साथी थियौँ । हामी दुवै जनालाई राप्तीमा बगाइदिने भन्दै आए ।’
जंगलको किनारमा बस्ने र वनमै निर्भर रहेका समुदायलाई संरक्षणको महत्त्व बुझाउन लामो समय लागेको उनको भनाइ छ । ‘सुरुमा यहाँ सिमलका केही रुख मात्र थिए । सिमलको फूल टिपेर बेच्ने चलन थियो । यही क्षेत्रलाई सौराहापछिको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना स्थानीयलाई बुझाउँदै लगेपछि पछि स्थानीयले बुझ्दै गएको सुवेदी बताउँछन् ।
वृक्षरोपणसँगै पर्यटकीय पूर्वाधार निर्माणको योजना अघि बढाइयो । मचान निर्माण गरियो, जंगलभित्र पर्यटकका लागि ट्र्याक खोलियो । यसले वन्यजन्तु अवलोकन र पर्यटन गतिविधि विस्तार गर्न सहयोग पुगेको सुवेदीको भनाइ छ ।
२०५३ सालमा सामुदायिक वनले हात्ती सफारी, जंगल वाक, जिप सफारी र डुङ्गा सयर सञ्चालनमा ल्यायो । सुरुमा १० वटा जिपलाई मात्र अनुमति दिइएको थियो । अहिले दैनिक करिब १०० जिपले पर्यटकलाई जंगल सफारी गराउने गरेको वनको अभिलेखमा छ ।
वरिष्ठ रेन्जर सुवेदी कुमरोज सामुदायिक वन जिप सफारी सुरु गर्ने पहिलो सामुदायिक वन भएको बताउँछन् । उनी यहाँ जिप सफारी सफल भएपछि अन्य सामुदायिक वनले पनि यसलाई पछ्याएको बताउँछन् ।
२०४३ देखि २०५३ सालसम्म वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिइयो । २०५३ सालमा जिल्ला वन कार्यालयमा दर्ता भएपछि उपभोक्ता समितिमार्फत संरक्षण व्यवस्थापन सुरु भएको वनका अध्यक्ष राजु सिलवाल बताउँछन् । २०५९ सालमा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर वन पर्यटनका गतिविधिमा थप सक्रिय भएको उनको भनाइ छ ।
वनको आम्दानीले बदलिँदै स्थानीयको जीवन
कुमरोज मध्यवर्ती सामुदायिक वनको विशेषता वन्यजन्तु संरक्षण र पर्यटनमा मात्र सीमित छैन । वनबाट भएको आम्दानी स्थानीयको शिक्षा, स्वास्थ्य, पूर्वाधार र जीविकोपार्जनमा समेत खर्च हुँदै आएको छ ।
वनको सेवा क्षेत्रभित्र खैरहनी नगरपालिका–१२ र १३ पर्छन् । यस क्षेत्रमा करिब तीन हजार घरधुरी छन् । तीमध्ये करिब एक हजार घरधुरी आर्थिक रूपमा कमजोर रहेको, ३०० घरधुरी सुकुमवासी र ३०० घरधुरी अव्यवस्थित बसोबास गर्ने रहेको वडा नम्बर १३ का अध्यक्ष कुलप्रसाद भुसाल बताउँछन् ।
उनका अनुसार यस क्षेत्रका धेरै स्थानीयको आर्थिक निर्भरता वनसँग जोडिएको छ । तर वनबाट प्राप्त हुने आम्दानी र प्राकृतिक स्रोतमा मात्रै निर्भर रहनुभन्दा पर्यटनका माध्यमबाट स्थानीयको आयआर्जन बढाउने प्रयास भइरहेको उनको भनाइ छ ।
‘स्थानीयको आर्थिक अवस्था सुधार गर्न वनसँगको प्रत्यक्ष निर्भरता कम गर्दै पर्यटकीय गतिविधिमा जोड्ने प्रयास भइरहेको छ,’ भुसाल भन्छन्, ‘सामुदायिक वनले पनि आफ्नो नाफालाई स्थानीय केन्द्रित काममा खर्च गर्दै आएको छ ।’
उनका अनुसार पछिल्लो समय वन आसपासका बासिन्दाको दैनिकी पशुपालनबाट पर्यटन र सेवामूलक व्यवसायतर्फ सर्दै गएको छ । स्थानीयलाई होटल व्यवस्थापन, इलेक्ट्रिसियन र प्लम्बिङलगायतका सिपमूलक तालिम उपलब्ध गराउने काम पनि भइरहेको उनको भनाइ छ ।
पर्यटन विस्तारसँगै स्थानीयले रोजगारी र व्यवसायका नयाँ अवसर पाएका छन् । वनको संरक्षणमा स्थानीयको लगानी र सहभागिताले वन्यजन्तुको आवागमनसमेत बढेको भुसालको भनाइ छ ।
तर, संरक्षणको बाटो सहज भने छैन । हरेक वर्ष मानव–वन्यजन्तु द्वन्द्वका घटना हुने र त्यसबाट मानवीय क्षतिसमेत हुने गरेको वडध्यक्ष भुसाल बताउँछन् । यस्तो जोखिम हुँदाहुँदै पनि स्थानीयले आगामी पुस्ताका लागि वनलाई आम्दानीको स्रोतका रूपमा हस्तान्तरण गर्ने उद्देश्यसहित संरक्षणमा योगदान गरिरहनु भने प्रशंसनीय रहेको उनको भनाइ छ ।
शिक्षादेखि दाहसंस्कारसम्म वनको सहयोग
कुमरोज सामुदायिक वनले आफ्नो आम्दानीको ठूलो हिस्सा सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय समुदायमा खर्च गर्दै आएको छ ।
वनका अध्यक्ष राजु सिलवालका अनुसार विपन्न परिवारलाई घर निर्माणमा सहयोग, सडक ढलान तथा ग्राभेल, खानेपानी धारा जडान, सुत्केरी पोषण खर्च, दाहसंस्कार, स्वास्थ्य उपचार, शिक्षा, संस्कृति संरक्षण र खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
शिक्षा क्षेत्रको विकासका लागि चालु वर्षमा मात्रै वनले २० लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । आफ्नो सेवा क्षेत्रभित्रका ६ वटा विद्यालय र एउटा बाल विकास केन्द्रलाई उक्त रकम सहयोग गरिएको अध्यक्ष सिलवालले जानकारी दिए ।
वनले स्थानीय किसानलाई दूध उत्पादनमा समेत अनुदान दिँदै आएको छ । सेवा क्षेत्रभित्र रहेका ६ वटा दुग्ध उत्पादक सहकारीमार्फत किसानले प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान पाउने गरेको उनको भनाइ छ ।
त्यस्तै, कुनै सदस्यको मृत्यु भएमा दाहसंस्कारका लागि १० हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ । सदस्य सुत्केरी हुँदा पोषण खर्चसमेत दिइन्छ ।
मानव–वन्यजन्तु द्वन्द्वबाट हुने क्षति न्यूनीकरण र प्रभावित परिवारलाई राहत दिन पनि वनले छुट्टै व्यवस्था गरेको छ । वन्यजन्तुको आक्रमणबाट मानवीय मृत्यु भएमा किरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराइन्छ । घाइते भएमा बढीमा एक लाख रुपैयाँसम्म उपचार खर्च दिइन्छ । बाली तथा पशुचौपायामा क्षति पुगेमा मूल्याङ्कनका आधारमा ५० प्रतिशतसम्म राहत उपलब्ध गराउने गरिएको अध्यक्ष सिलवालले बताए ।
बस्ती र वनको सिमानामा कङ्क्रिट वाल निर्माण गरेर वन्यजन्तु बस्तीमा प्रवेश गर्ने जोखिम घटाउने प्रयाससमेत भइरहेको उनको भनाइ छ । ‘आम्दानीअनुसार हामीले वनका सदस्यलक्षित काम गरेका छौँ । सामाजिक संस्था भएकाले सदस्यहरूको स्वास्थ्य, शिक्षा, बाटो निर्माण र घर निर्माणलाई प्राथमिकता दिएका छौँ । त्यो हाम्रो कर्तव्य पनि हो,’ अध्यक्ष सिलवाल भन्छन् ।
उनका अनुसार वनको आम्दानीले स्थानीय तहको सीमित स्रोतसाधनबाट गर्न कठिन हुने कतिपय विकास निर्माणका कामलाई समेत सहज बनाएको छ ।
संरक्षण र पर्यटनको नमुना
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले कुमरोज मध्यवर्ती सामुदायिक वनलाई संरक्षण र पर्यटनको समन्वयबाट समुदायको आर्थिक विकास सम्भव भएको उदाहरणका रूपमा लिने गरेको बताए ।
उनका अनुसार वन संरक्षणसँगै पर्यटकीय गतिविधि विस्तार हुँदा रोजगारी सिर्जना, स्थानीय आम्दानी वृद्धि र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा योगदान पुगेको छ । पुनले वनलाई अझ व्यवस्थित बनाउन मचान निर्माण र वन्यजन्तु अवलोकनका लागि सहज वातावरण तयार गर्नुपर्नेमा जोड दिएका छन् ।
कुमरोज वनले संरक्षणको नाममा स्थानीयलाई वनबाट अलग राख्नेभन्दा उनीहरूलाई नै संरक्षणको लाभग्राही बनाउने अभ्यास गरेको छ । वनबाट प्राप्त आम्दानी स्थानीयको शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीमा लगानी हुँदै आएको छ । यसले संरक्षणप्रति समुदायको अपनत्व बढाउन सहयोग गरेको देखिन्छ ।
कुनै समय बाढीको जोखिमले थातथलो नै छाड्नुपर्ने अवस्थामा पुगेका कुमरोजवासीले आज त्यही बाढीबाट जोगिन सुरु गरेको वृक्षरोपणलाई आर्थिक समृद्धिको आधार बनाएका छन् ।





























