नेपाली व्यावसायिक सेफहरूको पाककला प्रतिस्पर्धा ‘Chef Nepal: The Professionals’ टेलिभिजनमा आउँदै

काठमाडौं । नेपालको पाककला (कुलिनरी) क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित ‘Chef Nepal’ ले आफ्नो नयाँ टेलिभिजन कार्यक्रम ‘Chef Nepal: The Professionals’ सन् २०२७ को फेब्रुअरीदेखि प्रसारण गर्ने तयारी गरेको छ ।

नेपालको पहिलो व्यावसायिक सेफ केन्द्रित प्रतिस्पर्धात्मक कुकिङ रियालिटी शोका रूपमा निर्माण हुन लागेको यस कार्यक्रममा स्वदेश तथा विदेशमा कार्यरत नेपाली व्यावसायिक सेफहरूले आफ्नो सीप, सिर्जनशीलता, अनुभव र पाककलाको उत्कृष्टता प्रस्तुत गर्नेछन् ।

कार्यक्रमका लागि विश्वका विभिन्न देशमा कार्यरत नेपाली सेफहरूबाट कुल १४५ आवेदन प्राप्त भएका छन् । प्रारम्भिक छनोट प्रक्रियापछि तीमध्ये ३० जना सेफलाई आगामी चरणका लागि छनोट गरिएको छ । छनोट भएका ३० जनामध्ये उत्कृष्ट २० सेफले टेलिभिजन पर्दामा प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०१६ मा परिकल्पना गरिएको ‘Chef Nepal’ सन् २०२१ मा औपचारिक रूपमा सुरु भएको हो । यसको पहिलो संस्करण सन् २०२३–२०२४ मा कान्तिपुर टेलिभिजन, युट्युब तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत प्रसारण भएको थियो ।

पहिलो संस्करणको सफलतापछि ‘Chef Nepal’ टेलिभिजन कार्यक्रमभन्दा बाहिर विस्तार हुँदै कुलिनरी मिडिया तथा ग्यास्ट्रोनोमी समुदायको विकासमा केन्द्रित प्लेटफर्मका रूपमा अघि बढिरहेको छ । यसले टेलिभिजन कार्यक्रम, डिजिटल सामग्री, पाककला पोडकास्ट, व्यावसायिक कार्यक्रम, सेफहरूको सञ्जाल निर्माण तथा शैक्षिक पहलमार्फत नेपाली पाककलाको प्रवर्द्धन गर्दै आएको छ ।

‘Chef Nepal: The Professionals’ ले सामान्य कुकिङ प्रदर्शनमा मात्र सीमित नभई व्यावसायिक भान्सामा आवश्यक पर्ने सीप, अनुशासन, सिर्जनशीलता, नवीनता र टिमवर्कलाई प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गर्ने आयोजकको लक्ष्य छ । विभिन्न पाककला चुनौतीमार्फत सहभागी सेफहरूको प्राविधिक दक्षता र व्यावसायिक क्षमतालाई दर्शकमाझ ल्याइनेछ ।

कार्यक्रमको आधिकारिक प्रसारण साझेदारका रूपमा YOHO Television र एक्सक्लुसिभ मार्केटिङ पार्टनरका रूपमा Suiyushna Media Buzz Pvt. Ltd. आबद्ध भएका छन् । आवश्यक पूर्वनिर्माण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

कार्यक्रमको छायांकन तथा निर्माण सन् २०२७ को जनवरीदेखि सुरु हुने र टेलिभिजन प्रसारण फेब्रुअरी महिनाको मध्यदेखि प्रारम्भ गर्ने तयारी गरिएको छ ।

यसैबीच, ‘Chef Nepal’, YOHO Television र Suiyushna Media Buzz Pvt. Ltd. ले विभिन्न ब्रान्ड, व्यावसायिक प्रतिष्ठान, कर्पोरेट संस्था, हस्पिटालिटी समूह तथा उद्योगी व्यवसायीलाई कार्यक्रमसँग जोडिन आह्वान गरेका छन् ।

कार्यक्रममा प्रायोजन, ब्रान्ड साझेदारी, उत्पादन समावेशीकरण तथा रणनीतिक सहकार्यमार्फत सहकार्यका विभिन्न अवसर उपलब्ध हुने जनाइएको छ । विशेषगरी कुलिनरी, हस्पिटालिटी, खाद्य तथा पेय पदार्थ, फुड सर्भिस, लाइफस्टाइल र मनोरञ्जन क्षेत्रका ब्रान्डलाई लक्षित दर्शकमाझ आफ्नो उपस्थिति विस्तार गर्ने अवसर मिल्ने विश्वास आयोजकको छ ।

नेपाली सेफहरूको प्रतिभा, सीप र व्यावसायिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्दै नेपालको पाककला क्षेत्रको विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित कार्यक्रम निर्माण गर्न लागिएको हो ।

‘Chef Nepal’ बारे

‘Chef Nepal’ Dharma Pictures को पहलमा सञ्चालित कुलिनरी मिडिया तथा ग्यास्ट्रोनोमी समुदायमा आधारित प्लेटफर्म हो । मनोरञ्जन, शिक्षा, व्यावसायिक सहभागिता र उद्योगको विकासमार्फत नेपालको कुलिनरी इकोसिस्टम निर्माण गर्नु यसको मुख्य उद्देश्य रहेको छ ।