भरतपुरमा ५ करोड लगानीमा खुल्यो ‘चितोन स्पाइसी हर्ब’

चितवनको भरतपुर महानगरपालिका-१०, दीपेन्द्र चोकमा झन्डै ५ करोड रुपैयाँको लगानीमा ‘चितोन स्पाइसी हर्ब’ होटल सञ्चालनमा आएको छ। स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ जापानमा १९ वर्षको व्यावसायिक अनुभव हासिल गरी ७ वटा रेस्टुरेन्ट चलाउँदै आएका प्रकाश आचार्य र चिरञ्जीवी आचार्य दाजुभाइले यो होटल खोलेका हुन्।

चार कठ्ठा जमिनमा फैलिएको यस होटलमा दुईवटा गोलाकार डिजाइनसहित १२ डिलक्स रुम, ६० र ३०/३० जना क्षमताका ३ वटा हल, २०० जना अट्ने रुफटप रेस्टुरेन्ट, १०० जना क्षमताको अर्को रेस्टुरेन्ट र पर्याप्त पार्किङ सुविधा रहेको छ। होटलमा नेपाली, थाइ, चाइनिज र भारतीय परिकारका साथै जापानी खानाको मौलिक स्वाद दिन जापानबाटै सेफ ल्याउने तयारी गरिएको छ। सञ्चालकहरूले आगामी दिनमा पश्चिम चितवनको पर्यटकीय क्षेत्रमा समेत होटल विस्तार गर्ने योजना बनाएका छन्।