काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी भएका छन् । संघको निर्वाचन अन्तिम मत परिणाम अनुसार अध्यक्षमा भुवन सिंह विजयी भएका हुन् । संघको ३१ औं साधारण सभाबाट अध्यक्षमा गुरुङ विजयी भएपनि अन्य पदाधिकारीमा मिश्रित परिणाम आएको छ ।
चुनावी नतिजा अनुसार प्रथम उपाध्यक्षमा नरेश गेलाल समूहका सुजित श्रेष्ठ र द्वितीय उपाध्यक्षमा गुरुङ समूहका देवकुमार खोखाली विजयी भए । तृतीय उपाध्यक्षमा गेलाल समूहका बैकुण्ठ वैभव विजयी भएका छन् ।
यस्तै, महासचिवमा गुरुङ समूह कै महेश कुमार बस्नेत विजयी भएका छन्, भने सचिवमा गुरुङ समूहका कुन्छ दोर्दे दिङडोङ र कोषाध्यक्षमा गेलाल समूहकी धनमाया सिन्जाली मगर विजयी भए।
संघको नेतृत्वका लागि यसपटक दुई प्यानल चुनावी मैदानमा होमिएका थिए । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलमा बनेको प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङले उम्मेदवारी दिएका थिए ।
यस्तै, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहको अध्यक्षका उम्मेदवार संघका पूर्व महासचिव तथा मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल चुनावी मैदानमा थिए।
यस्तै, युवा व्यवसायी ईश्वर सापकोटाले सचिव र अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
भुवनसिंह गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, महासचिवमा महेशकुमार बस्नेत, सचिवमा कुन्छा दोर्जे दिमदोङ र कोषाध्यक्षमा विक्रम श्रेष्ठले उम्मेदवारी दिएका थिए ।
नरेश गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा संघका पूर्व महासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मधुकर रिजाल, तृतीय उपाध्यक्षमा बैकुण्ठ पौडेल वैभव, महासचिवमा कर्णराज कटुवाल, सचिवमा अनिल बोगटी र कोषाध्यक्षमा धनु सिजालीले उम्मेदवारी दिएका थिए ।