काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्कँदै छन् । पछिल्लो केही समयदेखि गण्डकी प्रदेशका विभिन्न धार्मिक स्थलको भ्रमण गरिरहेका शाह आज अपराह्न काठमाडौँ आउन लागेका हुन्
पूर्वराजा शाह पोखराबाट काठमाडौं आउने भएपछि राजावादीहरुले काठमाडौंमा शक्ति देखाउने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादीहरूले काठमाडौंका विभिन्न ठाँउबाट नारा जुलुस निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भई पूर्वराजा शाहको स्वागत गर्ने तयारी गरेका हुन् । पोखराबाट फर्किएपछि ज्ञानेन्द्रलाई जुलुससहित निर्मल निवास लैजाने उनीहरूको तयारी छ ।
राजावादीहरूले गर्ने पूर्वराजा शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । पूर्वराजाको स्वागतमा करिब ६ हजार राजावादीहरू सहभागी हुनसक्ने प्रहरीको आँकलन छ । प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको प्रहरीले जनाएको छ । आज बिहानैदेखि काठमाडौंका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।