एनआरएनले नेपाली नागरिकता लिएपछि भिसा लिन पर्दैन : परराष्ट्रमन्त्री देउवा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिने प्रतिबद्धता जनाएकी छन्।

मन्त्री देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसँग आइतबार सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा छलफल गर्दै गैरआवासीय नेपाली नागरिकता दिएकाहरूलाई १० वर्षे भिसा प्रणाली अस्थाई प्रबन्ध नभएको बताउँदै संसदमा प्रस्तुत हुने प्रतिस्थापन विधेयकमार्फत गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिने प्रतिबद्धता जनाएकी हुन्।

मन्त्री देउवाले सर्वोच्च अदालतले दिएका दुवै फैसलालाई आधार बनाएर महान्यायाधिवक्ताको सुझावका आधारमा मन्त्रालयले संघको विवादमा निकास निकाल्ने बताइन्।

उक्त भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले एनआरएनए ऐनलाई छिट्टै संसदमा लैजान अनुरोध गरे । प्रतिनिधि मण्डलमा संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना र एशिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई सहभागी थिए।