काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा नि:शुल्क गर्न प्रस्ताव गरेका छन् ।
ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्यून आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा नि:शुल्क गर्नुपर्ने बताएका हुन् । उनले रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने प्रस्ताव गरे । त्यसमा काठमाडौं र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठूलो हिस्सा व्यहोर्न तयार रहेको उनको भनाइ छ ।
महर्जनले अहिलेका लागि रात्रिकालीन बस सेवाको ब्रेक–इभेन अवस्थालाई यथास्थितिमै राखेर निश्चित ‘कटअफ डेट’ तोक्नुपर्ने बताए। आगामी वैशाख १ गते वा उपयुक्त कुनै दिनदेखि रात्रिकालीन बस सेवा नि:शुल्क गर्ने घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ । उनले यस्तो व्यवस्था लागू गर्न सके सार्वजनिक यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन हुने दाबी गरे ।
उनले भने, ‘अब मेट्रो आउनको निमित्त आज काम सुरु भयो भने २० वर्ष पछि मात्रै आउँछ । तसर्थ त्यो अवधि सम्म चाहिँ बिआरतिको व्यवस्थापन हुनुपर्छ भन्नेकुरा गरेकोमा त्यतातिर पनि खासै त्यति पहलकदमी भइरहेको छैन । तसर्थ अहिले केही न केही नगरी हुँदैन भन्ने सन्दर्भमा साझाको तर्फबाट अहिले यो जुन हरियाली बस त्यो पनि इलेक्ट्रिक बसको जुन सेवा प्रवाह अहिले अति राम्रोसँग हुन गयो यो साह्रै राम्रो बिआरति फुल फेजमा अथवा बिआरति चल्नुभन्दा अगाडि त्यसको निमित्त यो साझाको यो जुन हरियो बसहरूले राम्रो सेवा प्रवाह गर्न सक्षम हुनेछ र अझै यसलाई इन्हान्स गर्नुपर्छ । त्यसको निमित्त काम त भइराखेकै छ भन्ने कुरा मैले अनुरोध गर्दै यो कार्यक्रमको निमित्त अहिले यहाँ हामी काठमाडौं भ्यालीभित्रको १८ वटा पालिकाहरूमध्ये ९ वटा पालिकाको मेयरसाबहरू उपमेयरसाबहरूको उपस्थिति छ । यसमा जुन अपरेसनको कस्टको जुन ग्याप छ त्यसको लागि निमित्त अहिले भर्खर अहिले हाम्रो प्रस्तुतिमा काठमाडौं र ललितपुरले अलि हेफ्टी एमाउन्ट राख्ने, त्यसपछि बाँकी अरू पालिकाले थोरै थोरै राखेर यसलाई भर्ताल गर्ने भन्ने जुन प्रस्ताव आयो त्यसमा पूर्ण समर्थन छ । अझ त मैले के भन्ने गर्या छु भने अझ त मैले के भन्ने गर्या छु भने यो बेलुकीको लेट आवरको अपरेसन फ्रि अफ कस्ट हुनुपर्छ । यो बस चढ्नेहरू अघि यहाँ तथ्याङ्क पेश गर्दाखेरि सेक्युरिटी गार्ड अनि अन्य अलिकति लोवर लेबलको म्यानपावरले चढ्दो रहेछ । भनेपछि उहाँहरूलाई महानगरपालिका लगायत काठमाडौं भ्यालीको नगरपालिकाहरूले बेलुकीको बस राइड फ्रि दियो भन्दै एउटा उपहारको रूपमा उहाँहरूले ग्रहण गर्नुहुन्छ नि त । तसर्थ म त अझ अझ म प्रस्ताव गर्न चाहन्छु कि यो यसको जति खर्च लाग्छ त्यसमा हामी १८ वटा पालिकाहरू मध्य– १८ वटा पालिकाहरू हामी संलग्न हुने । त्यसमा काठमाडौं र ललितपुरले अलि ठूलै भारी हामी बोक्न तयार छौँ । यो यति बोकेर यसलाई फ्रि गर्दिन पायौँ भने मलाई जहाँसम्म लाग्छ यो वास्तवमै एउटा ट्रान्सपोर्टेसन सेक्टरमा छलाङ मारेको ठहरिन्छ । तसर्थ यतातिर लाग्नको निमित्त मैले विशेष तवरले आज धेरै मेयरसाबहरू उपमेयरसाबहरूको उपस्थितिमा मैले अनुरोध गरेँ कि यतातिर अब, ठिक छ, अहिलेको निमित्त जुन यसको ब्रेक इभन पोइन्टको सन्दर्भमा अहिले जुन प्रस्तुति भयो, ठिक छ, अहिलेको निमित्त त्यसलाई हामीले यथास्थितिमा राखौँ, तर आउँदो वैशाख १ गते अथवा कुनै एउटा दिन कट अफ डेट राखेर त्यो बेलादेखि यो बस लेट नाइट बस फ्रि भनेर घोषणा गरौँ, त्यो गरेको खण्डमा चाहिँ मलाई जहाँसम्म धेरै राम्रो हुन्छ ।’
महर्जनले मेट्रो रेल सञ्चालन हुन अझै लामो समय लाग्न सक्ने भएकाले त्यस अवधिसम्म सार्वजनिक यातायातको विकल्पका रूपमा रात्रिकालीन बस सेवाको व्यवस्थापन र विस्तारमा जोड दिनुपर्ने बताए ।































