नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अब एमाले यथास्थितिमा अगाडि जान नसक्ने समीक्षा सुनाएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले अगाडि बढ्न केही न केही नयाँपन चाहिने बताएका हुन् ।
‘अब हाम्रो पार्टी यथास्थितिमा जान सक्दैन, अब हाम्रो पार्टीमा केही न केही नयाँपन दिनुपर्छ,’ भट्टराईले भने, ‘त्यो नयाँपन भनेको नीतिमाथिको पुनरावलोकन, संगठनको ढाँचामाथिको पुनरावलोकन, हाम्रा व्यवहार, कार्यशैली, बोली–वचन, यी तमाम कुराको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण । यो प्रकृयाबाट नै नेकपा एमाले पुनर्जागण हुनसक्छ ।’
गएको एक वर्षको पार्टीको समग्र समीक्षा गर्नुपर्ने पनि उनले बताए । ‘हामीले घटनाहरूलाई हेर्ने दृष्टिकोणमा कहाँकहाँ गल्ती गर्यौं ? त्यसलाई सच्याउने, जनतासँगको सम्बन्ध कहाँ टुट्यो ? त्यहाँ सच्याउने, नवयुवा हाम्रो पार्टीमा किन आएनन् ? त्यसलाई विश्लेषण गरेर सच्याउने । यही नै एमाले र मुलुकको आवश्यकता हो,’ उनले भने ।
एमाले पुनर्जागरण र पुनर्गठनका लागि गठित उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को कार्यदलले अहिलेसम्म निष्कर्ष दिन नसकेको उनले बताए । कार्यदलले महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेख्ने जिम्मा दिएअनुसार प्रतिवेदन आएपनि त्यसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चित्त नबुझाएको उनले बताए ।अध्यक्षकै निर्देशनअनुसार उपाध्यक्ष बादलबाट अर्को प्रतिवेदन आएकाले दुवै प्रतिवेदनमाथि छलफल भइरहेको नेता भट्टराईले जानकारी दिए ।






























