काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताएका छन् ।
शुक्रवार काठमाडौँमा ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गरेका हुन् ।
दाहालले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको बताए । उनले करिब १४ सय वर्षअघि चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भू-भागबीच सम्पर्क स्थापित गरेको प्रसंगलाई आजको समयमा सडक सञ्जालमार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गरे । उनले बीआरआईलगायतका सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने बताए । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित, सहकार्य र समृद्धिको दिशामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको उनको भनाइ छ ।
दाहालका अनुसार व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा नेपाल र चीनबीच उल्लेखनीय प्रगति भएको छ । चीन नेपालका लागि असल छिमेकीसँगै महत्वपूर्ण लगानीकर्ता तथा विकास साझेदारका रूपमा रहेको उनले बताए ।
उनले भने, ‘इतिहास तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यसलाई पढिन्छ र बुझिन्छ । एक अर्काको इतिहास बुझ्दा समाज र देशहरू सांस्कृतिक रूपमा अझ नजिक हुन्छन् । यो पुस्तक धेरैभन्दा धेरै नेपाली पाठक, विशेष गरी युवा पुस्तासम्म पुगेर नेपाल-चीन सम्बन्ध, बौद्ध धर्म र ताङ वंशसँग जोडिएको ऐतिहासिक सम्बन्ध बुझ्न सहयोग पुग्ने विश्वास लिएको छु । मित्र राष्ट्रहरूबीचको दिगो सम्बन्ध वर्तमान सहकार्यमा मात्र होइन, साझा इतिहास र परम्पराप्रतिको सम्मानमा पनि आधारित हुन्छ । सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको छ । पारस्परिक हित र सहकार्यका क्रममा व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ । चीन नेपालका लागि असल छिमेकी, महत्वपूर्ण लगानीकर्ता र विकास साझेदारका रूपमा स्थापित भएको छ । राष्ट्रपति सी चिनपिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रका रूपमा अघि बढाउने तथा विश्वलाई जोड्ने उद्देश्यसहित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को अवधारणा अघि सार्नुभएको हो । ग्लोबल साउथका देशहरूबीच सहकार्य र साझा लाभका लागि यसले जोड दिएको छ । करिब १४ सय वर्षअघि चिनियाँ भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै नेपाल र भारतसम्म गरेको यात्रादेखि आजको सडक सञ्जालमार्फत विश्वलाई जोड्ने प्रयाससम्म हेर्दा इतिहास र वर्तमानबीच एउटा सुन्दर सम्बन्ध देखिन्छ । ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करणको प्रकाशनले नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको छु । ह्वेनसाङका यात्रा-वृत्तान्त र नेपाली कलाकार अरनिकोले चीनमा सिर्जना गरेका कलाकृतिहरूले दुई देशबीचको ऐतिहासिक सम्बन्धको सेतुका रूपमा पुस्तौँपुस्तासम्म काम गरिरहनेछन् । नेपाल र चीनका जनताबीचको मित्रता आगामी पुस्ताहरूमा अझ गहिरो र सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दछु ।’
उनले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने बताए ।






























