पोखरा । पोखरा विश्वविद्यालयले चारवटा संकायमा रिक्त डीन पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
विश्वविद्यालयको उपकुलपति कार्यालयले एक सूचना जारी गर्दै व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्वास्थ्य विज्ञान संकायको डीन पदका लागि आवेदन माग गरेको हो ।
डिन छनोट प्रक्रियाअन्तर्गत उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना र व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ। विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको एकडब्लुओटी विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।
खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको योग्यता र अनुभवसँगै सम्बन्धित संकायको विकासका लागि प्रस्तुत गरिने रणनीतिक योजना तथा त्यसको कार्यान्वयन क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ।
चारवटै संकायमा रिक्त डिन पदपूर्ति भएपछि शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप प्रभावकारी हुने विश्वविद्यालयको अपेक्षा छ।
































