१० औं राष्ट्रिय खेलकुद : फुटबलमा लुम्बिनीलाई कोशीले हरायो

 सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको ७ औं खेल अन्तर्गत शुक्रबार बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ ।

कोशीका लागि मिलन राईले १२ औं र ३२ औं मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४ औं तथा सौरभ लिम्बुले ६४ औं मिनेटमा गोल गरेका थिए ।

लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९ औं मिनेटमा फागुराम चौधरीले गरेका थिए ।

फागुराम र प्रकाशलाई एक खेल प्रतिबन्ध

कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८ औं मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा खेलेको थियो । रातोकार्ड पाएका भुजेललाई आगामी एक खेलमा प्रतिवन्ध लागेको छ ।

यस्तै सो खेलमा लुम्बिनीका फागुराम चौधरीले पहेँलो कार्ड पाएका थिए । पहिलो खेलमा पनि चौधरीले पहेँलो कार्ड पाउँदा पहेँलो कार्डको संख्या दुई भएपछि उनलाई पनि आगामी एक खेल प्रतिबन्ध लागेको म्याच कमिसनर बीरेन्द्र पाण्डेले जानकारी दिए ।

आफ्नो पहिलो खेल बागमतीसँग बराबरी गरी एक अंक पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अंक प्राप्त गरेको छ भने त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अंक बिहीन भएको छ ।

शुक्रवार दिउँसो २:३० बजे बागमती र नेपाली सेनाको त्रिुभवन आर्मी क्लवबिच खेल हुनेछ ।