काठमाडौँ । इजरायलमा केयर गिभर (सुसारे) का रूपमा रोजगारीका लागि ८३६ नेपाली कामदार छनोट भएका छन्। छनोटमा परेका कामदार आवश्यक प्रक्रिया पूरा गरेपछि चरणबद्ध रूपमा इजरायल पठाइने छ।
इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरणले काठमाडौँमा आयोजित कार्यक्रममा पहिलो चरणमा जाने कामदारहरूको अन्तिम सूची सार्वजनिक गरेको हो। कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास, वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा श्रव्यदृश्य माध्यमबाट गोलाप्रथा (लक्की ड्र) मार्फत छनोट गरिएको थियो।
इजरायली दूतावासका अनुसार छनोट प्रक्रियामा १ हजार ११५ जना योग्य उम्मेदवार सहभागी भएका थिए। गोला प्रथाबाट ७८४ पुरुष र ३३१ महिला छनोट सूचीमा परेका छन्। अन्तिम चरणमा आवश्यक मापदण्ड पूरा गर्ने ८३६ जना कामदार इजरायल जान पाउनेछन्।
कार्यक्रममा बोल्दै राजदूत एरीबासले इजरायलमा नेपाली केयरगिभरको माग अझै बढ्दै गएको उल्लेख गर्दै निकट भविष्यमै थप २ हजार १०० भन्दा बढी नेपालीका लागि रोजगारीको अवसर खुल्ने तयारी भइरहेको जानकारी दिए।
उनले ‘घरमा आधारित स्याहार सेवा’ तथा ‘कृषि श्रमिक’ सम्बन्धी नेपाल–इजरायल द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन पनि अन्तिम चरणमा पुगेको बताए।
नेपाल र इजरायल बीचको श्रम सम्झौता अनुसार त्यहाँ जाने नेपाली कामदारले इजरायली श्रम कानुन बमोजिम स्थानीय कामदार सरह तलब, बिदा तथा अन्य श्रम सुविधाहरू प्राप्त गर्ने व्यवस्था रहेको छ। यसले नेपाली श्रमिकको अधिकार संरक्षणसँगै दुई देशबीचको श्रम सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।





























