मुगु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कर्णाली भूगोल खुला पुरुषतर्फबाट मुगुका प्रतिनिधिसभा सदस्य खड्गबहादुर शाही केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
शाहीले २ हजार ९ सय १९ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा विजय हासिल गरेका हुन्।
नेपाली कांग्रेस मुगुका कार्यवाहक सभापति हरिजङ्ग शाहीका अनुसार खड्गबहादुर मुगु जिल्लाबाट निर्वाचन प्रक्रियामार्फत पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुने पहिलो व्यक्ति हुन्। यसअघि मुगु कांग्रेसका कुनै पनि नेता निर्वाचन प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य बन्न सफल भएका थिएनन्।
यसअघिका महाधिवेशनमा मुगु कांग्रेसका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले दुई पटक केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरे पनि निर्वाचित हुन सकेका थिएनन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मुगुबाट निर्वाचित शाहीले यसअघि नेपाली कांग्रेस मुगुको जिल्ला सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
शाही केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै मुगु कांग्रेसको केन्द्रीय तहमा प्रतिनिधित्व थप बलियो हुने अपेक्षा गरिएको छ। यसबाट जिल्लाका राजनीतिक मुद्दा, विकासका आवश्यकता तथा जनताका सवाललाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।





























