ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

काठमाडौँ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरास्थित सन्धिखर्क-तम्घास सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

बल्कोटबाट सन्धिखर्कतर्फ रोलर लोड गरी जाँदै गरेको लु.४ त ७९१७ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आउँदै गरेको लु.७२ प २०६३ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिने साइडमा पल्टिएको थियो ।

दुर्घटनामा ट्याक्टरका सहचालक पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमडीका करिब २२ वर्षीय गणेश रास्कोटी मगर ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका थिए । जेसीबीको सहायताले उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याइएका उनलाई चिकित्सकले दिउँसो १२:१० बजे मृत घोषणा गरेका हुन् ।

ट्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ निवासी २६ वर्षीय पुण्यप्रसाद थारु घाइते भएका छन् । उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको छ ।

मोटरसाइकल चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४, केरुङ्गाका ४१ वर्षीय सञ्जय पाण्डे भने सकुशल छन् । मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली खटिएर उद्धार तथा आवश्यक अनुसन्धान गरेको छ । प्रारम्भिक विवरणअनुसार ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेको र सवारी चालक अनुमतिपत्र नभएको उल्लेख छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।