काठमाडौं । पैसा अभावका कारण अस्पतालले भर्ना नलिँदा एक महिलाले सडकमै बच्चा जन्माउनुपरेको दर्दनाक घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अंकिता ठाकुरले संसद्मा गम्भीर आपत्ति जनाएकी छन्।
संसद्को बैठकमा बोल्दै सांसद ठाकुरले राज्यको स्वास्थ्य प्रणालीमाथिनै प्रश्न उठाइन्। “आज भाषण होइन, हाम्रै राज्य प्रणालीले लेखेको एउटा भयानक र कारुणिक कथा सुनाउन उभिएकी छु,” उनले भनिन्, “जहाँ पैसाले आस र सास तय गर्छ, त्यहाँ अस्पताल अस्पताल रहँदैन, सौदाबाजीको पसल बन्छ।”
राजविराज नगरपालिका–१४ पर्साहीका हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई प्रसूति व्यथा लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुर्याइएको थियो। तर, उनीहरूसँग रु. २,५०० मात्रै भएकाले अस्पतालले भर्ना लिन अस्वीकार गरेको थियो। पर्याप्त रकम नभएकै कारण अस्पतालबाट निकालिएकी बबिताले अन्ततः अस्पताल बाहिर फुटपाथमै बच्चा जन्माउन बाध्य हुनुपरेको सांसद ठाकुरले संसद्लाई जानकारी गराइन्।
यसै विषयलाई लिएर अर्का सांसद खगेन्द्र कर्णले पनि संसद्मा कडा विरोध जनाएका छन्। सर्वसाधारणले स्वास्थ्य उपचार नपाएर सडकमै प्रसूति हुनुपर्ने अवस्था आउनु राज्यको लाचारी भएको भन्दै उनले यसबारे सरकारसँग तत्काल आधिकारिक जवाफको माग गरेका छन्।































