Hotel Panchthar Nepco Media

अन्तर्राष्ट्रिय विमानस्थलको सेटिङबारे एशोसिएसनद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् ।

एशोसिएसनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट भिजिट भिसामा नेपालीहरू असुरक्षित भएर वैदेशिक रोजगार जानेक्रम नरोकिएको भन्दै गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएका हुन् ।

गृहमन्त्री लेखकलाई उनकै कार्यकक्षमा भेटेर ज्ञापनपत्र बुझाउँदै एशोसिएसनले सरकारले पटक–पटक प्रतिबद्धता जनाएपनि वैदेशिक रोजगारका लागि भिजिट भिसामा जाने प्रवृत्ति नरोकिएको भन्दै कडाइ गर्न माग समेत गरेका छन् ।

मानव तस्करीमा संलग्न गिरोहले केही महिना यूएईमा बसेपछि युरोपेली मुलुकमा सहजरूपमा जान पाउने ‘ग्यारेन्टी’ नै गर्ने गरेका कारण लाखौं खर्च गरी भिजिट भिसा प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ठूलो संख्यामा जाने गरेको एशोसिएसनले बसझाएको ज्ञापनत्रमा जनाइएको छ ।

नेपाल सरकारले घरेलु कामदारको रूपमा यूएई, साउदी अरेबिया, कतार, कुवेत, ओमान र इराकलगायतका देशमा प्रतिबन्ध लगाएको अवस्थामा सामाजिक सञ्जालबाट विज्ञापन गरेर आकर्षक रोजगारीका नाममा ठगी गर्नेहरूले यूएईलाई सुरक्षित आश्रयस्थल बनाएर बसेको विषयमा पनि एशोसिएसनले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएको छ ।

गृहमन्त्री लेखकले भिजिट भिसाले उत्पन्न गर्ने समस्याबारे आफू जानकार रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग छलफल गरेको बताए ।