काठमाडौं। दशैंको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’ प्रचार–प्रसारमा लागेको छ ।
चलचित्र प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ ।
निर्माण टिमले काठमाडौंका विभिन्न कलेजमा गीति नाटकमार्फत चलचित्रको प्रचारप्रसार गरिरहेको छ । चलचित्रका कलाकार विभिन्न कार्यक्रमहरुमा समेत पुगेर ‘परदेशी २’हेर्न दर्शकलाई अपील गरिरहेका छन् ।
त्यस्तै, चलचित्रका निर्देशक एवं कलाकारहरु शनिवार भक्तजनसँग प्रस्तुत भएका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी,अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गरेका हुन् ।
निर्देशक एवं कलाकारहरुलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो ।
अभिनेता सपूतले चर्चित गीतहरु प्रस्तुत गर्दा भक्तजनले तालीले स्वागत गरे । उनले ‘परदेशी २’ सामाजिक कथामा पारिवारिक चलचित्र बनेको बताउँदै माया गरिदिन आग्रह गरे ।
अभिनेत्रीद्धय केकी र वर्षाले दशैंको फेस्टिभ माहोलमा मनछुने चलचित्र आउँदै गरेको बताउँदै सबैलाई मनपर्ने विश्वास दिलाए । शनिवार महायज्ञमा झण्डै १५ सय भक्तजन उपस्थित थिए । फरक खालका दर्शकमाझ पुग्दा नौलो अनुभूति भएको अनुभव निर्माण टिमको थियो ।
वडादशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’मा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।