अनावश्यक कमेन्ट र मेसेज गर्नेविरुद्ध सनिशाले दिइन् कानूनी उपचारको चेतावनी

अभिनेत्री सनिशा भट्टराईले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरी भइरहेको भनिएका अनावश्यक कमेन्ट, म्यासेज तथा आपत्तिजनक गतिविधि तत्काल रोक्न आग्रह गरेकी छन् ।

अन्यथा कानुनी प्रक्रिया अघि बढाउने उनको चेतावनी छ ।

सामाजिक सञ्जालमार्फत अपिल गर्दै भट्टराईले पछिल्लो केही महिनादेखि एक व्यक्तिबाट यस्ता गतिविधि निरन्तर भइरहेको उल्लेख गरेकी छन् । आफ्ना व्यक्तिगत अकाउन्टबाट ब्लक गरेपछि पनि पटक–पटक नयाँ अकाउन्ट बनाएर सम्पर्क र कमेन्ट गर्ने तथा आफूसँग सम्बन्धित समाचार, पोस्ट र अन्य सार्वजनिक सामग्रीमा समेत उस्तै प्रकृतिका टिप्पणी गर्ने गरिएको उनको भनाइ छ ।

विभिन्न अकाउन्ट एउटै व्यक्तिसँग सम्बन्धित हुनसक्ने देखिए पनि त्यसको वास्तविकता सम्बन्धित निकायको अनुसन्धानबाट मात्रै पुष्टि हुन सक्ने उनले स्पष्ट पारेकी छन् ।