तनहुँ । डेंगी संक्रमणबाट तनहुँमा यसवर्ष तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुने तीनैजना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास–१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेंगीको संक्रमण बढ्दो अवस्थामा रहेको बताए।
कुल बिरामी संख्या एक हजार ६ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ ।
दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ ।
अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुईजना ल्याबका कर्मचारी र दुईजनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उनले जानकारी दिए ।
नगरपालिकाले टोल–टोलमा डेंगीसम्बन्धी सचेतनासमेत सुरु गरेको छ ।
गत भदौ महिनाको अन्तिम सातायता डेंगीको संक्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको बताए ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जिल्लामा डेंगीको संक्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गरे ।
एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगीको लक्षण हुन् ।