चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् ।
उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुगेका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् ।
मोरङबाट उपचारका लागि यहाँ आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् ।
यस्तै पर्वतबाट श्रीमतीको उपचारका लागि आएका बलराम सुवेदीले अस्पतालका चिकित्सकले बिरामीलाई उपचारका लागि बाहिर पठाउने गरेको गुनासो गरे ।
मन्त्री बस्नेत आएको जानकारी पाएर अस्पतालको प्रशासन भवन अगाडि जम्मा भएका बिरामीका आफन्तले बिमाबाट अस्पतालको फार्मेसीमा पाउनुपर्ने औषधिसमेत नपाएको गुनासो गरेका थिए ।
गुल्मीबाट बिरामी लिएर आएका कृष्णप्रसाद न्यौपानेको पनि गुनासो उस्तै थियो । सरकारले दिएको सेवा–सुविधासमेत अस्पतालबाट पाउन नसकेको भन्दै उनले मन्त्रीका सामु आक्रोश पोखे।
सर्लाहीबाट उपचारका लागि आएकी एक महिलाले पैसाको अभावमा उपचार गर्न नसक्ने अवस्था आएको पीडा सुनाइन् । अस्पतालमा बिजुलीदेखि खानेपानी, शौचालयसम्म र चमेना गृहसम्मको गुनासो मन्त्री बस्नेतलाई बिरामीका आफन्तले राखेका थिए ।
बिरामी र बिरामीका आफन्तको गुनासो सुनिसकेपछि मन्त्री बस्नेतले अस्पतालमा आएका बिरामी बाहिर पठाउन नपाउने तथा त्यस्तो गरेमा अस्पताल प्रशासन र चिकित्सकलाई कारबाही गरिने बताए ।
हुँदा खाने वर्गको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन आफू लागिपरेको उल्लेख गर्दै मन्त्री बस्नेतले अहिले आठ सयभन्दा बढी चिकित्सकको काज सरुवा बदर गरी गाउँ पठाइएको जानकारी दिए । अहिले सरकारले तीन हजार पाँच सय २३ शय्या निःशुल्क गरेको र यसलाई अझै प्रभावकारीरूपमा अघि बढाउने उनले बताए ।
पैसाको अभावमा उपचार गर्न नपाएको गुनासो गरेकी सर्लाहीकी महिलालाई मन्त्री बस्नेतले रु पाँच हजार नगद सहयोग गर्दै निःशुल्क उपचारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिए ।