Hotel Panchthar Nepco Media

राष्ट्र बैंकले १० अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र आज जारी गर्ने भएको छ।

सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो।

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन्।

यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ।

भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ। अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।

घटीमा पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ।