काठमाडौँ। ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका सञ्चालकहरूले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। कम्पनीले ऊर्जा मन्त्रालयमार्फत सहयोग रकम कोषमा उपलब्ध गराएको हो।
सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने कम्पनीसहित सबै सहयोगीप्रति आभार व्यक्त गरेका छन्।
संकटका समयमा नेपालीहरू एकजुट भएर एक अर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले अहिले पनि त्यही भावना र सहकार्य आवश्यक रहेको बताएका छन्।
मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि आर्थिक सहयोगसँगै नैतिक, भौतिक तथा प्राविधिक सहयोगको पनि उत्तिकै आवश्यकता रहेको बताए।
‘विपद्को यस कठिन घडीमा जसले जे सक्छ, त्यही सहयोग गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो,’ मन्त्री श्रेष्ठले भनेका छन्।






























