काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख जरिवाना गरेको छ। अंकित मूल्यभन्दा दोब्बर मूल्यमा ‘मिनिरल वाटर’ बेचेको भन्दै विभागले जिम्बु थकालीलाई जरिवाना गरेको हो।
जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरेका थिए।
रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्यभन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको महानिर्देशक पौडेल बताए।
रेष्टुरेण्टले अब पनि अंकित मूल्यभन्दा बढीमा पानी लगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने बताए।चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा खटाएको छ ।



























