वैदेशिक रोजगारीका सबै काम पोखरा र भैरहवाबाट पनि हुने

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूले जानका लागि आवश्यक प्रक्रियाको लागि काठमाडौं धाउनु नपर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा श्रमिकलाई पठाउन आवश्यक पर्ने सबै प्रक्रिया भैरहवा र पोखरा पठाउने निर्णय गरेको छ ।

श्रममन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा गत आइतबार बसेको सर्वपक्षीय सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई आवश्यक पर्ने सबै सेवासुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाटै उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको मन्त्रालयका सूचना अधिकारी कविराज उप्रेतीले बताए ।

वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौँ आउनुपर्ने अवस्था अन्त्य गर्न हाल प्रदान गरिरहेको सेवा र सम्पादन गरिरहेका काम भैरहवा र पोखराबाट गर्ने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित संस्थालाई निर्देशन दिइएको उनले बताए ।

सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाको सम्बन्धमा सम्बन्धित कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ ।