धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने भएका छन् ।
यस अघि शुक्रबार बोलाइएको बैठक मुख्यमन्त्री सोडारीको अनुरोधमा आजको लागि सारिएको थियो। प्रदेश सभा सचिवालयका अनुुसार आज बैठक साढे ५ बजे बस्ने भएको छ ।
नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगर्दा मुख्यमन्त्रीका लागि आह्वान गरिएको शुक्रबारको बैठकनै स्थगित हुन पुगेको थियो ।
पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ भने रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने भएका छन् ।
नेपाली कांग्रेसले भने मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ । असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको छ । सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। विश्वासको मत लिन उनलाई जेठ ५ गतेसम्मको समय छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसद आवश्यक पदर्छ ।































