करको विरोधमा देशभरका सिनेमा हल बन्द गरिने

काठमाडौं । करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् ।

नेपाल चलचित्र संघले एक विज्ञप्ति जारी गर्दै चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने जनाएको हो ।

संघको विज्ञप्तिमा भनेको छ, ‘अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रूपमा आगामी माघ २२ गत सोमबार मुलुकभरका चलचित्र घरहरू बन्द गर्ने निर्णय भएको छ।’

संघले मूल्य अभिवृद्धि करबाहेकका कर खारेजीको माग गरेको छ। चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरेको छ।