फुङ्लिङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मुक्कुमलुङ क्षेत्रमा राखिएका साइन बोर्ड र ब्यानर हटाइने भएको छ।
वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेकोकाले पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङद्वारा जारी गरेको सुचनामा आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मागमा राखिएका विभिन्न साइन बोर्ड हटाउन आग्रह गरेको छ।
पाथीभरा पदमार्गका विभिन्न ठाउँमा अव्यवस्थितरूपमा र त्यहाँ रहेका वनस्पति तथा रुखमा फलामका काँटी ठोकेर राखिएका साइन बोर्डले प्राकृतिक सौन्दर्यतामा प्रतिकूल असर पुर्याइरहेको सूचनामा उल्लेख छ।
पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई बचाउन र स्वच्छ वातावरण कायम राख्नेगरी सुरु गरिएको अभियानलाई सहयोग गर्न समितिका कार्यकारी निर्देशक हाङ्बाङले सबै पक्षलाई अपिल समेत गरेका छन्।





























