काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि अनुमति प्राप्त स्वास्थ्य संस्थाको नवीकरण तथा सूचीकरण खुलाएको छ ।
आगामी पुस मसान्तसम्म नवीकरण तथा सूचीकरणका लागि दस्तुर निवेदन दिन यसअघि नवीकरण भइ सूचीकरण भएका स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ७२ अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि नवीकरण हुन पुस मसान्तभित्र निवेदन दिनुपर्ने प्रावधान छ ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले सूचीकरण र नवीकरण गरेको मितिदेखि तेस्रो वर्षको पुस १ गतेदेखि मसान्तसम्ममा १५ हजार नवीकरण दस्तुर बुझाइ नवीकरण तथा सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।
मन्त्रालयले नवीकरणका लागि दिने निवेदनका साथमा वैदेशिक रोजगार कल्याणकारी कोषमा एभरेस्ट बैंकको सिंहदरबार वा जुनसुकै शाखामा नवीकरण दस्तुर तिरेको रसिद, सूचीकरण प्रमाणपत्रको प्रतिलिपिसहित कागजात पेश गर्नुपर्ने बताएको छ ।
निवेदनका साथमा गत आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, स्वास्थ्य मन्त्रालय वा अन्तर्गत संस्था सञ्चालनको अनुमतिपत्रको प्रमाणपत्र र त्यसको नवीकरणको प्रतिलिपि तथा नाम, स्वामित्व र ठेगाना परिवर्तन भएको भए त्यसको जानकारी समेत दिनुपर्ने मन्त्रालयले उल्लेख गरेको छ ।






























