काठमाडौं । निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचनलाई परम्परागत ढंगले सञ्चालन गर्दै आएको व्यवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षिय रणनीतिक योजनाबारे सरोकारवालाहरूसँग गरेको छलफल कार्यक्रममा उनले अबको निर्वाचन प्रणाली, व्यवस्था र निर्वाचनसम्बन्धी सम्पूर्ण क्रियाकलापमा समयअनुकूल परिवर्तन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘निर्वाचन अहिले जुन परम्परात ढंगले चलिरहेको छ, चलिराखोस् भन्नुहुन्छ भने मेरो विमति छ । जे चलिरहेको छ, राम्रै छ, किन गर्नुपर्यो र ऐन ? भन्ने छ । अबको परिस्थितिमा हामीसँग त्यो सुविधा छैन ।’
अहिलेको निर्वाचन प्रक्रियाले विभिन्न कारणले धेरै नागरिकलाई मतदान गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । सुब्बाले विदेशमा रहेका वा कामको सिलसिलामा एक जिल्लाबाट अर्को जिल्लामा पुगेका नागरिकलाई समेत मतदानको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अबको निर्वाचन प्रणाली, अबको निर्वाचन व्यवस्था, अबको निर्वाचनका सम्पूर्ण क्रियाकलापहरुको दृष्टिकोणमा हामीले परिवर्तन गर्नैपर्छ ।‘
योग्य सबै नागरिकले जुनसुकै अवस्थामा पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने उल्लेख गर्दै उनले यस मान्यताबाट पछि हट्न नहुने बताए । उनले अहिलेको निर्वाचन प्रक्रियाले धेरै नागरिकलाई असहज परिस्थितिमा पारेको भन्दै मतदानको अधिकारलाई सहज र सबैको पहुँचमा पुर्याउने गरी व्यवस्था गर्नुपर्ने बताए।
‘हाम्रा नागरिकहरुले विदेशमा होस्, चाहे कामको सिलसिलामा एउटा जिल्लाबाट अर्को जिल्लामा गएको किन नहोस् ? उहाँहरुको नैसर्गिक अधिकार हो भोट गर्न पाउने । जुनसुकै अवस्थाका नागरिक जो योग्य छन्, उनीहरुले भोट गर्न पाउनुपर्छ भन्ने हाम्रो सर्वमान्य मान्यता हो, यसबाट हामी पछि हट्न हुँदैन,’ उनले थपे, ‘अहिलेको परिस्थितिमा जो चुनाव भइरहेको छ, त्यसले धेरै व्यक्तिहरुलाई एक किसिमले अफ्ठ्यारो परिस्थितिको सिर्जना गरेको छ ।’
उनले लोकतन्त्रलाई बलियो बनाउने मतदान नै भएको जिकिर गरे। आगामी निर्वाचनमा कतै न कतै अन्तरजिल्ला मतदान गर्ने व्यवस्था, विदेशमा रहेकाहरुलाई मतदानको अधिकार दिनुका साथै अनलाइन भोटिङको व्यवस्था गर्नुपर्ने बताए ।





























