ढोरपाटन उपत्यका पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बागलुङ पश्चिममा रहेको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ ।

प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत पुर्‍याएको हो ।

कपिलवस्तु मोतीपुरबाट अर्घाखाँची सन्धिखर्क, गुल्मी तम्घास र पौँदीअमराइ हुँदै बागलुङ बुर्तिबाङसम्मको १३२ केभी प्रसारण लाइन तथा बुर्तिबाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसन मार्फत ढोरपाटन क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको हो ।

बुर्तिबाङ सबस्टेसनबाट ढोरपाटन नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिबाङ फिडर बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ ।

फिडर सञ्चालनमा आएसँगै वोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्स्फर्मर चार्ज भएका छन् । यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् ।

यसअघि त्यस क्षेत्रका उपभोक्ताले स्थानीय लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्दै आएका थिए ।

राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेपछि ढोरपाटन उपत्यका तथा आसपास क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुनुका साथै विद्युत् आपूर्ति गुणस्तर, विश्वसनीयता र नियमिततामा सुधार आउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय ग्रिडमा आबद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटन व्यवसाय तथा समग्र क्षेत्रको सामाजिक–आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास प्राधिकरणले लिएको छ ।

प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख दीलिप मरासेनीले अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत् जडानका लागि जुनसुकै समयमा पनि बुर्तिबाङ नो लाइट मार्फत आवेदन फारम भरी सेवा लिन सक्ने बताए ।

बागलुङमा अब निसीखोला गाउँपालिका–५ स्थित निसिलढोरमा मात्र राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुग्न बाँकी छ । उक्त क्षेत्रमा चालु आर्थिक वर्षभित्र विद्युतीकरण गर्न आवश्यक बजेट व्यवस्था भइसकेको प्रमुख मरासेनीले बताए ।

उनका अनुसार अब ठेक्का प्रक्रिया अगाडि बढाइ विद्युतीकरणको काम सुरु गरिने छ । निसिलढोरमा समेत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्ने छ ।